खानेपानीको महसुल दर हेरफेर नभएसम्म उपभाेक्ताले रकम नबुझाउने

खोटाङको दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाले वितरण सुरु गरेको खानेपानीको महसुल महँगो भएको उपभोक्ताले गुनासो गरेका छन् ।उपभोक्ताले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाको महसुल अस्वभाविक रुपमा महँगो बनाइएको गुनासो गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका उपभोक्ताले र वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै उपभोक्ताको हित अनुकुल हुनेगरी खानेपानीको महसुल निर्धारणको पहल गर्न माग गरेका छन् । न्यूनतम प्रतियुनिट १५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म महसुल निर्धारण हुँदा कतिपय सामान्य परिवारका उपभोक्ताले खानेपानी उपभोग गर्न सक्ने अवस्था नभएको स्थानीय कृष्ण आचार्यले बताए ।

खानेपानीको निर्धारित नयाँ महसुल दर हेरफेर नभएसम्म उपभोक्तालाई दिइएकोे बिलमा उल्लेख रकम नबुझाउने ध्यानाकर्षणपत्रमा भनिएको छ । दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको पानी वितरणअघि मासिक दुई सय महशुल बुझाउँदै आएका कतिपय उपभोक्ताको ३ हजार ९०० सम्म बिल उठेको उपभोक्ताको भनाई छ ।

‘हामीले पानीको मासिक दुई सय महसुल तिर्दै आएका थियौं । अहिले मासिक चार हजारसम्म बिल आएपछि कसरी तिर्ने ?,’ आचार्यले भने, ‘दिक्तेलबजारका अधिकांश परिवारमा कम्तीमा २५ देखि ३० युनिट पानीको प्रयोग हुन्छ । एउटा घरले खानेपानीकै पैसा दुई हजार–तीन हजार तिर्नुपपर्यो भने सामान्य परिवारले कसरी धान्न सक्छ ?’

रम्बाखोला माझखोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र पानीपोत महसुल शुल्क निर्धारण सुझाव समितिको १४ फागुनमा बसेको बैठकले १ युनिटदेखि ८ युनिटसम्म न्यूनतम २५० रुपैयाँ, ८ युनिटदेखि १५ युनिटको प्रतियुनिट १५, २० युनिटदेखि २५ युनिटसम्म प्रतियुनिट २५, २५ युनिटदेखि ३० युनिटसम्म प्रतियुनिट ५० र ३० देखि माथि प्रतियुनिट ७५ रुपैयाँ महसुल दर रेट निर्धारण गरेको थियो ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ रुपैयाँ (भ्याट सहित)को लागतमा खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो ।

१८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ १४ चैत २०७५ देखि योजनाको काम सुरु गरिएको थियो । आयोजनाको कतिपय मिटर लिकेज हुने समस्या देखिएको छ ।

आयोजना केही समयपछि उद्घाटनको तयारी गरिएको छ ।

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.