विनयी खोलामा निर्माणाधीन नयाँ पक्की पुल आउँदो असार १४ गतेबाट सञ्चालन हुने

विनयी खोलामा निर्माणाधीन नयाँ पक्की पुल आउँदो असार १४ गतेबाट सञ्चालन हुने

नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत विनयी त्रिवेणी गाउँपालिकाको दुम्किवासस्थित विनयी खोलामा निर्माणाधीन नयाँ पक्की पुल आउँदो असार १४ गतेबाट सञ्चालन हुने भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व (नवलपुरको) सबैभन्दा लामो २ सय ४५ मिटर दुरीको विनयी खोलाको पुरानो फलामे पुल भाँचिएपछि यस क्षेत्रमा यातायात आवतजावतमा असहज भइरहेको छ । अबको केही दिनमा नयाँ पुलबाटै यातायात सञ्चालन गर्न सकिने भएपछि यात्रा सहज हुने छ ।

बुटवल नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार ढलान भएको २८ दिनपछि पुलमा यातायात सञ्चालन गर्न मिल्दछ । यही जेठ २३ गते पुलको अन्तिम स्पानको ढलान सकिएको हो । पुल ढलान गरेको २८ दिनपछि मात्र पुलले भारबहन क्षमता अनुसारको काम गर्ने भएकाले असार १४ गतेबाट यसै नयाँ पुलबाट नै गाडी आवतजावत गर्न मिल्ने सूचना अधिकारी खनालले जानकारी दिनुभयो ।

गत वर्षको पुस २६ गते अत्यधिक भार बोकेको भारतीय ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो पुल भाँचिएपछि अहिले डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । वर्षा हुँदा पटक पटक उक्त डाइभर्सन पनि बगाउँदा आवागमन नै ठप्प हुँदै आएको छ । यस अघि दुई पटकसम्म डाइभर्सन बगाइसकेको छ ।

विनयी खोलामा रहेको पुरानो फलामे पुल ५२ वर्षअघि निर्माण भएको थियो ।

मध्यविन्दु नगरपालिकाको ७ र ८ नंं वडा जोड्ने गिरुवारी खोलाको पुल समेत वैशाख २९ गते राति, बढी तौल बोकेको ट्रक गुड्दा भाँचिएको थियो । उक्त पुल मर्मत गरेर २५ दिनपछि गत शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार