गोरखा सदरमुकामदेखि आरुघाट जोड्ने सडक पूर्ण रुपमा बन्द

गोरखा सदरमुकामदेखि आरुघाट जोड्ने सडक पूर्ण रुपमा बन्द

गोरखा ।  गोरखा सदरमुकामदेखि आरुघाट जोड्ने सडक पूर्ण रुपमा बन्द भएको छ । गोरखा नगरपालिका–८ स्थित ढुङ्गागाढेमा आइतबार आएको भिषण वर्षाले पुरै सडक भासिदा सडक पूर्ण रुपमा बन्द भएको हो ।

गोरखा सदरमुकामबाट, शहिद लखन गाउँपालिकाको मनकामना, भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका पुग्ने सवारीसधानहरु पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक ईन्द्र प्रसाद सुबेदीले जानकारी दिनुभयो।

“उक्त सडक भासिएर खुलाउने बाटो कतै पनि नभएपछि वैकल्पिक रुपमा डाईभर्सनको व्यवस्था गर्न सकिने अवस्था छैन”, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय गोरखाले समबन्धित निकायलाई निर्देशन दिईसकेकाले छिटो बन्ने अपेक्षा गरिएको छ ।”

गोरखाको मुख्य सडक भएकाले जिल्ला प्रशासन कार्यालय गोरखाको अगुवाईमा जिल्लामा भएका जनप्रतिनिधी तथा विकासे कार्यालयका प्रमुखहरुसँगको छलफलबाट जति सक्दो चाँडै बाटो खुलाएर सवारीसाधनलाई आवतजावतमा सहज बनाइने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

अत्यधिक मात्रामा परेको अविरल वर्षाले सडक नै भासिएर जाँदा ठुला चारपाङ्ग्रे सवारीसाधनहरुलाई पूर्ण रुपमा रोक लगाई सकेको साथै दुई पाङ्ग्रे सवारीसाधनलाई जोखिम मोलेर यात्रा नगर्न गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले आग्रह गर्नुभयो ।

सोमबार जिल्ला प्रशासन कार्यालय गोरखाले एक सुचना जारी गर्दै सडक पूर्णरुपमा नबन्दा सम्म लागि सवारी आवतजावतमा पूर्ण रुपमा बन्द गरिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा हस्ताक्षारित गरेको विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार