
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गरेका छन्।
भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि प्रतिपक्ष दलले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गरेपछि उनले पत्रकार सम्मेलन आयोजना गरेका हुन्।
उनले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । पत्रकार सम्मेलनमा लेखकले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको बताए ।
‘सबैभन्दा पहिलो जसरी यो विषय भिजिट भिसामा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा भएका छन् । यो असत्य कुरा हुन्, यो बेठिक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन,’ गृहमन्त्री लेखकले भनेका छन् ।
साथै, उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताए ।
‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको छ,’ लेखकले भने, ‘यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रमूलक छ र यो क्रम जारी छ भन्ने मैले अनुभूत गरेको छु ।’