
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् नबिग्रिएको अवस्थामा पनि ‘बत्ती गयो’ भनेर आतंक फैलाउनेहरूलाई कानुनी दायरामा ल्याइने चेतावनी दिनुभएको छ । नो लाइट शाखामा विद्युत् आपूर्ति भइरहे पनि नभएको भन्दै फोन आउने गरेको र क्रस चेक गर्दा विद्युत् आपूर्ति भइरहेको पाइएकाले त्यस्ता कलकर्ताहरूको नम्बर टिपेर प्रहरीलाई दिन खड्काले आग्रह गर्नुभएको हो ।
उहाँले अब ‘लोडसेडिङ’ नहुने बताउनुभएको छ । मन्त्री खड्काले कुलेश्वरस्थित कालीमाटी ‘नो लाइट’ शाखाको स्थलगत निरीक्षण गर्दै अब लोडसेडिङ नहुने र हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो ।
सोही अवसरमा नो–लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे मन्त्री खड्काले जानकारी लिनुभयो । मन्त्री खड्काले हाल देशमा उत्पादन भइरहेको विद्युत्ले माग पूरा गर्न पर्याप्त रहेकाले अब लोडसेडि नहुने स्पष्ट पार्नुभयो ।
“केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेका छन्, त्यस्ता भ्रामक प्रचारको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध गर्दछु,” उहाँले भन्नुभयो ।
विगतका वर्षमा विद्युत् प्रणालीमा अहिलेभन्दा बढी समस्या देखिने गरे पनि अहिलेको अवस्थामा विगतभन्दा तुलनात्मक रुपमा सहजता भएको मन्त्री खड्काले बताउनुभयो । असामान्य मौसम, हावाहुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको उहाँको भनाइ थियो ।
मन्त्री खड्काले हिजै स्युचाटारस्थित ‘लोड डिस्प्याच सेन्टर’को समेत आकस्मिक अवलोकन गर्नुभएको छ । उहाँले उक्त सेन्टरमार्फत मुलुकभरको विद्युत् प्रवाह अवस्था नियाल्दै, प्रविधि र कर्मचारी व्यवस्थापनको स्थितिबारे जानकारीसमेत लिनुभयो ।
सेन्टरको निरीक्षण गर्दै उहाँले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई उपभोक्ताप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न निर्देशन दिनुभयो । बजारमा सञ्चालित अपुष्ट सूचना र असत्य प्रचारले आमजनतामा भ्रम सिर्जना गर्ने भन्दै त्यसप्रति सचेत रहनुपर्ने उहाँको भनाइ थियो ।
सरकारले लोडसेडिङको पुनरावृत्ति हुन नदिन प्रणाली सुदृढीकरण, आपूर्ति निरन्तरता र गुनासो व्यवस्थापनमा कडाई गर्ने नीति अवलम्बन गरेको मन्त्री खड्काले बताउनुभयो ।
निरीक्षण टोलीमा मन्त्री खड्कासँगै ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित अन्य प्राविधिक कर्मचारीको उपस्थिति थियो ।