
बर्दघाट। शुक्रवार रातीदेखि परेको पानीको कारण दाउन्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि सडक अवरुद्ध बनेको हो ।
बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भस्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिए । शुक्रवार राती करिब ११ बजेबाट अवरुद्ध सडक शनिवार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
शनिवार बिहान पनि सामान्य वर्षा भइरहेकोले सडक मर्मतमा कठिनाइ भइरहेको र भस्किएको सडक पानी रोकिएपछि निर्माण कम्पनी, सडक विभागसँग समन्वय गरी शीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको बानियाँले जानकारी दिए ।
दाउन्ने सडक खण्ड केही दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ । गए राती देखि नै सडक अवरुद्ध हुँदा यो सडक हुँदै सञ्चालन हुने सवारीहरू रोकिएका छन् । अहिले पश्चिमबाट पूर्व जाने सवारी बर्दघाट र पूर्वबाट पश्चिम आउने सवारी दुम्किबास ज्यामिरेमा रोकिएका छन् ।