
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको भेटवार्तापछि आजै साँझ मन्त्रिपरिषद् बैठक बोलाइएको छ। दुई शीर्ष नेताबीच करिब एक घण्टा लामो छलफलपछि प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिसम्बन्धी निर्णय गर्न मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।
यसअघि गभर्नर नियुक्तिमा दलहरूबीच सहमति नजुटेपछि सोमबारका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको थियो। ओली र देउवाबीच त्यतिबेलै भेटवार्ता हुने भनिए पनि त्यो सम्भव हुन सकेको थिएन। तर आज अन्ततः उनीहरूबीच छलफल सम्पन्न भएपछि निर्णय प्रक्रिया अघि बढाइएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने तय गरिएको एक मन्त्रीले जानकारी दिएका छन्। आजको बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्ति लगायतका विषयमा निर्णय लिने अपेक्षा गरिएको छ, जसले पछिल्लो समय जारी रहेको अन्योलता अन्त्य गर्ने सम्भावना छ।