भारत-पाकिस्तानबीच मिसाइल हानाहान, आईपीएलको खेल समेत स्थगित

पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित

काठमाडौं  । पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् ।

आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो ।

पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानले कश्मिरदेखि लिएर राजस्थान र पञ्जाबका सीमा क्षेत्रमा ड्रोनमार्फत् हमला गरिरहेको छ । ती आक्रमणलाई भारतले एस–४०० एयर डिफेन्स मिसाइल सिस्टममार्फत असफल बनाएको दाबी गरेको छ । भारतको हिन्दुस्तान टाइम्सका अनुसार भारतीय सेनाले जम्मू नजिकै पाकिस्तानको एफ–१६ विमान खसालिदिएको छ ।

भारतबाट सञ्चालित अनलाइन द भाष्करका अनुसार पाकिस्तानले जम्मू र पठानकोटमा आत्मघाती ड्रोनबाट हमला गरेको छ । जम्मू विमानस्थल र पठानकोट एयरफोर्स स्टेशनलाई लक्षित गरेर पाकिस्तानले ड्रोन प्रहार गरे पनि त्यसलाई भारतीय एयर डिफेन्स सिस्टमले असफल बनाएको दाबी गरिएको छ ।

भारतीय मिडियाहरुका अनुसार जम्मु कश्मिरको जम्मु, साम्बा, केरन, तंगधार, करनाह, अखनुर, आरएसपुरा सेक्टर, अरनिया लगायतका स्थानमा आक्रमण भएको छ ।

यसैगरी पञ्जाबको गुरदासपुर, राजस्थानको जैसलमेर र गुजरातको भुज क्षेत्रमा पनि आक्रमण भएको छ ।

आक्रमण तीव्र भएपछि जम्मू, किश्तवाड, अखनुर, साम्बा र पठानकोटमा बत्ती निभाइएको छ । राजस्थानका सबै सीमा क्षेत्रका जिल्लाहरूमा पूरै ब्ल्याकआउट गरिएको छ । पञ्जाबको जालन्धर र अमृतसरमा तथा बिकानेर र श्रीगंगानगरमा पनि पूर्णरूपमा ब्ल्याकआउट गरिएको छ ।

आईपीएलको खेल चलिरहेको बेलामा पनि स्टेडियमको बत्ती केहीबेर निभाइएको थियो । त्यसपछि खेल नै स्थगित गरिएको छ । स्टेडियमबाट दर्शकहरुलाई घर फर्काइएको छ ।

सुरक्षाकर्मीहरुले घर, पसल र आफ्ना सवारी साधनहरुको बत्ती निभाउन आह्वान गर्दै माइकिङ गरिरहेका छन् । उनीहरुले घरबाट बाहिर ननिस्किन पनि  भनेका छन् ।

स्थानीयवासीहरूका अनुसार धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको छ र मानिसहरुमा आतंक छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार