नेपालमा बढाइयो सुरक्षा सतर्कता, सीमा क्षेत्रमा सशस्त्रको गस्ती सुरु

काठमाडौं । भारत र पाकिस्तानबिच तनाव बढेसँगै नेपालमा समेत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा व्यवस्था कडा पार्न सरकारले सेना तथा प्रहरीलाई निर्देशन दिएको छ ।

बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै केन्द्रीय सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ ।

बुधबार दिउँसो गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

छलफलमा सीमा क्षेत्रमा निगरानी र जाँच कडा पार्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउने र अवैध घुसपैठ रोक्न समन्वयात्मक रणनीति अपनाउने विषयमा निर्णय भएको स्रोतको भनाई छ ।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका बलाधिकृत रथी निर्मलकुमार थापा सहभागी थिए ।

स्रोतका अनुसार, सीमा क्षेत्रमा थप सुरक्षा व्यवस्थापनका लागि आवश्यक सर्कुलर जारी भइसकेको छ । भने सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा २४ सै घण्टा पट्रोलिङ र गस्ती समेत सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार