परीक्षामा प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक भएको परिक्षा बोर्डको दावी

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षामा प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक र गलत रहेको पाइएको जनाएको छ। बोर्डले आज विज्ञप्ति जारी गर्दै छानबिन गर्दा गलत रहेको पाइएको जनाएको हो।

बोर्डका अनुसार आज सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचनाको आधारमा जिल्ला परीक्षा समन्वय समिति, भक्तपुरका पदाधिकारी एवं जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीद्वारा सम्बन्धित परीक्षा केन्द्रमा गई छानबिन गरिएको थियो।

‘छानबिन गर्दा उक्त सूचना भ्रामक र गलत भएको पाइएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’विज्ञप्तिमा भनिएको छ,‘परीक्षा जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्नपत्रहरू राखी भ्रम सिर्जना गर्ने उपर आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ, सामाजिक सञ्जालमा सम्प्रेषण भएका यस प्रकारका गलत सूचनामा विश्वास नगर्न र आगामी दिनमा पनि यस्ता भ्रामक सूचनाको विश्वास नगरी आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिनुहुन सम्पूर्ण परीक्षार्थीहरूलाई अनुरोध गरिन्छ।’

बोर्डले विषयवस्तुको आधिकारिता पुष्टि नगरी यस्ता विषयहरू सामाजिक सञ्जालमा नराख्न समेत सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार