
शिब अधिकारी, रुपन्देही । नगर खेलकुद समिति सैनामैना नगरपालिकाको आयोजनामा हुन लागेको वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको खेल संयोजक किरण तिवारीले जानकारी दिनुभएको छ ।
सैनामैना नगरपालिका ७ लम्टिया स्थित गौतम बुद्ध क्रिकेट रङ्गशालामा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । पालिकामा रहेका ११ वडा वडाहरु बीच हुने प्रतियोगिताको पहिलो खेलमा बुधबार बिहान ८ बजे वडा नम्बर ८ र वडा नम्बर ५ का बीच प्रतिस्पर्धा हुनेछ ।
भोलि कुल ४ खेल खेलाइने जानकारी दिँदै खेल संयोजक किरण तिवारीले दोस्रो खेल वडा नम्बर ६ र वडा नम्बर २, तेस्रो खेल वडा नम्बर १ र वडा नम्बर ७ तथा चौँथो खेल वडा नम्बर १० र वडा नम्बर ३ का बीच हुने बताउनुभयो ।
प्रतियोगिताको दोस्रो दिन समुह चरणका सबै खेल र पहिलो सेमिफाईनल खेल हुनेछ । बिहिबार हुने पहिलो खेलमा वडा नम्बर ११ ले वडा नम्बर ९, दोस्रो खेलमा वडा नम्बर ४ ले खेल नम्बर ४ को विजेतासँग खेल्नेछ ।
त्यस्तै, सोही दिन पहिलो सेमिफाईनल खेल हुने संयोजक तिवारीले बताउनुभयो । उहाँले समापनका दिन शुक्रबार दोस्रो सेमिफाईनल र फाईनल गरि दुई खेल हुने बताउनुभएको छ ।
पछिल्लो समय खेलमय बनेको सैनामैनामा यो प्रतियोगिताले थप रौनक थप्ने र स्थानीय खेलाडीहरुको प्रतिभा बाहिर ल्याउन मद्दत गर्ने विश्वास गरिएको छ ।
प्रतियोगितामा जित हात पार्ने टोलीले ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपविजेता टोलीले ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले गर्ने तय भएको छ ।
खेलकुदको हबका रुपमा विकास हुँदै गएको सैनामैनामा हालै राष्ट्रिय पुरुष भलिबल, अन्तराष्ट्रिय आमन्त्रण फुटबल, वडा कप फुटबल, क्लब स्तरीय भलिबल लगायतका प्रतियोगिता सम्पन्न भएका छन् ।