
काठमाडौं । शिक्षकहरूको प्रदर्शनको खबर संकलन गर्ने क्रममा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की प्रहरीद्वारा हानिएको पानीको फोहराबाट घाइते भएकी छन्। अहिले उनी अस्पतालमा उपचाररत छिन्।
अस्पतालको बेडबाट बोल्दै कार्कीले घटनाको विवरण दिँदै भनिन्, “शिक्षकहरू नारा जुलुस गर्न लाग्नुभयो। त्यसपछि शिक्षकहरू आक्रोशित हुन थालेपछि प्रहरीले पानीको फोहरा हान्न थाल्यो। क्यामेरा पर्सन भिडियो खिच्न लाग्नुभएको थियो। म पनि छेउमा बसेर मोबाइल निकालेर भिडियो खिच्न लागेको थिएँ।”
कार्कीका अनुसार, प्रहरीद्वारा सुरुमै प्रहार गरिएको पानीको फोहरा सिधै उनको अनुहारमा लागेको थियो। “पानीको फोहरा अनुहारमा लागेपछि केही देख्न सकिनँ। आत्तिएँ, चिच्च्याएँ,” उनले भनिन्।
घटनापछि उनको दाहिने आँखा हेर्नै नसक्ने अवस्थामा पुगेको छ।