
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौँमा गर्न लागेको प्रदर्शनबारे गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
गृह मन्त्रालयले भनेको छ‚ ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२।१।७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरूप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पर्दै यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ। यसका साथै मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ।
राप्रपाले आइतबार काठमाडौँको बिजुलीबजारमा प्रदर्शन गर्दै छ।