
काठमाडौं । काठमाडौं महानगरपालिकाको एम्बुलेन्स खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको आरोपसहित मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
उजुरीमा मेयर शाहसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा संलग्न अन्य कर्मचारीहरूलाई पनि कारबाहीको माग गरिएको छ । उजुरीपत्रमा उल्लेख भएअनुसार, मेयर शाहको प्रत्यक्ष निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका गाउँपालिकाहरूलाई वितरण गर्ने उद्देश्यले ३५ वटा एम्बुलेन्स खरिद योजना अगाडि बढाइएको थियो, जसको प्रारम्भिक चरणमै अनियमितता भएको आशंका व्यक्त गरिएको छ ।
उजुरी अनुसार सचिव साहले एक स्कर्पियो गाडी घुसस्वरूप लिने सहमति गरेका थिए र सोही अनुरूप खरिद प्रक्रिया अघि बढाइएको बताइएको छ । बोलपत्र दस्तावेज (बिड डकुमेन्ट) मा ‘सामान प्राप्त भएपछि मात्रै भुक्तानी हुने’ प्रावधान भए पनि, आपूर्तिकर्ता कम्पनीले खरिदको सुरुमै भुक्तानीको सर्त राखेको र महानगरले उक्त सर्त स्वीकार गरेको उल्लेख गरिएको छ । उजुरीकर्ताले यस कार्यलाई खरिद ऐन, २०६३ को दफा ५२(क) को उल्लंघन भएको दाबी गरेका छन् ।
साथै, उजुरीकर्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(क) र ९ बमोजिम कानुनी कारबाहीको माग गरेका छन् । साथै, मूल्यांकन समितिमा बसेकालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरिएको छ ।
आर्थिक वर्ष २०८०–८१ को बजेट मार्फत् ३५ वटा एम्बुलेन्स खरिद गरेर विभिन्न गाउँपालिकाहरुलाई सहयोग गर्ने घोषणा महानगरले गरेको थियो ।