
काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य पक्राउ परेका छन्। उनलाई बारबर्दिया नगरपालिकाबाट बुधबार बेलुकी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो।
उनीमाथि मदिरा खाएर मङ्गलबार कार्यालयमा नगरप्रमुख छविलाल थारु र उपप्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ। नगरप्रमुख छविलाल थारु सहितको टोलीले जिल्ला प्रहरी कार्यालय बर्दियामा प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई अभद्र व्यवहारको मुद्दा गर्दा गर्न आवेदन दिएको कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले बताए।
अत्यधिक मदिरा सेवन गरेका प्रमुख प्रशासकीय अधिकृत आचार्यले उपप्रमुख रत्नकुमारी पाण्डेलाई उपप्रमुखकै कार्यकक्षमा पुगेर गाली गर्दै हातपातको प्रयास गरेपछि इलाका प्रहरी कार्यालयले मंगलबार नै पक्राउ गरेर साँझ ‘जिम्मा जमानत’मा छाडेको थियो।
उनलाई अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउन माग गर्दै मुद्दा दायर गरिएको बारबर्दिया नगरप्रमुख थारुले बताए। आचार्यले भने पावर टेलर खरिदमा नगर प्रमुखले पाँच लाख कमिसन नपाएको झोकमा प्रहरी बोलाएको आरोप लगाएका छन्।