
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् ।
गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो ।
उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको छ । ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरपालिकाले कानुनी प्रक्रियामा गएर भएपनि उठाउने भएको छ ।
उनका अनुसार नगर प्रहरीलाई निर्मल निवासको गेटमै रोकिएको हो । महानगरका कानुनी सल्लाहरका अधिवक्ता ओम प्रकाश अर्यालले पत्र बुझ्न नमाने पत्रीकामा सूचना निकाल्ने, हुलाक मार्फत चिठी पठाउन पनि सकिने बताए ।
ऐनको दफा ४९ अनुसार केन्द्रीय तहसिलको कार्यालयले लगत कायम गरेर असुल उपर गर्न सक्ने व्यवस्था रहेको छ ।