
शिब अधिकारी,सैनामैना । रुपन्देहीको सैनामैनामा फागुन १८ गतेदेखि जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधीका लागि कपिलवस्तु ११ ले अभिषेक र्चच रजहर नवलपुरसँग भेट पक्का गरेको छ । सोमबार भएको प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा कपिलवस्तुले महावीर फुटबल क्लब काठमाडौंलाई हराउँदै फाईनलमा स्थान बनाएको हो ।
खेलको निर्धारित समयमा दुवै टोलिका तर्फबाट कुनैपनि गोल हुन नसकेपछि ट्राईब्रेकरमा धकेलिएको खेलमा कपिलवस्तु ११ ले महावीर क्लब काठमाडौं ५-४ को गोल अन्तरले पराजित गरेको हो । महावीरका खेलाडी जर्सी नम्बर ७ का अरुण चौधरीको प्रहार गोल पोष्टबाट बाहिरिएपछि कपिलवस्तु ११ फाइनल प्रवेश गरेको प्रतियोगिताका संयोजक अशोक खड्काले बताए।
मुर्गिया फुटबल क्लब सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्ने छ भने उपविजेताले ४ लाख प्राप्त गर्ने छ ।
फाइनल खेल यही फागुन २८ गते बुधबार हुने छ । प्रतियोगिताको समापन सत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ । साथै उक्त दिन नेपाल आईडल शिजन २ का विजेता रवि ओड सहित द्रोपदी चलचित्रका कलाकारहरुको टोलीको उपस्थिती रहने मुर्गिया फुटबल क्लबले जानकारी दिएको छ । समापन सत्र बुधबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।