
भैरहवामा अहिले उद्योगी–व्यवसायीको चुनावी माहोल छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीमा आगामी कार्यकालका लागि व्यवसायीहरु नेतृत्व चयन प्रक्रियामा सहभागी छन् । निर्वाचन समितिले प्रक्रिया अनुसार उम्मेदवारी दर्ता अगाडी बढाइसकेको छ । अध्यक्ष नेत्र प्रसाद आचार्यसहित निर्वाचन प्रक्रियाको मनोनयनमा एकल उम्मेदवारी परेकोले वरिष्ठ उपाध्यक्षमा दिलिप कान्दु, उद्योग उपाध्यक्षमा गोविन्द ज्ञवाली, कर्पोरेट उपाध्यक्षमा रोहित अग्रवाल, महासचिवमा कृष्ण घिमिरे, कोषाध्यक्षमा कमल मरासिनी , सचिवमा मंगल भण्डारी र उद्योगतर्फ महिला सदस्य विष्णु माया शर्मा पौडेल निर्विरोध निर्वाचित भएका छन् । अन्य पदहरुमा निर्वाचन हुने भएको छ । फागुन २३ र २४ गते सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा हुन गइरहेको ६६ औं बार्षिक साधारणसभा तथा अधिबेशनमा भैरहवाका युवा व्यवसायी चन्द्रकान्त भट्टराईले पनि वाणिज्य सदस्य पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी किन र के का लागि भन्ने विषयमा रहेर हामीले उनै भट्टराईसँग कुराकानी गरेका थियौ । प्रस्तुत छ कुराकानीको संक्षिप्त अंश :
यहाँको व्यवसायीक यात्राको बारेमा बताइदिनुहोस् न ।
मेरो बुवा पर्वतको सेतिबेनी भन्ने ठाउँमा एक सानो किराना व्यवसायी सञ्चालन गर्नुभएको थियो । उहाँको कान्छो छोराको रुपमा मैले जन्म लिएको थिए । २०६७ सालमा काठमाडौंमा रहेर स्नातक तहको अध्ययन पूरा गरी मैले रुपन्देहीको भैरहवाबाट जागिरको सुरुवात गरेको हुँ । भैरहवामा रहेर कर्मचारीको रुपमा मैले जागिरको सुरुवात गरेको हुँ । कामको सिलसिलामा यस क्षेत्रका उद्योगी–व्यवसायीहरुसँग परिचित हुँदै गए । २०६८ सालमा आफनै श्री शिलाशालिग्राम ट्रेडर्स फर्म दर्ता गरी मेरो व्यवसायिक यात्राको सुरुवात भएको हो । कामको सिलसिलामा सबैको साथ र सहयोगले मलाई हौसला मिल्दै गयो । मेरो मिहिनेत र लगनशीलताले गर्दा नै मलाई व्यवसायिक रुपमा सफलता मिल्दै गयो । त्यसपछि मलाई पछाडी फर्किनुपरेन । केही निजी र केही सामूहिक लगानीमा व्यवसायहरु सञ्चालन गरे । क्रमशः न्यू लुम्बिनी ट्रान्सपोर्ट, एम आर बी इन्भेष्टमेन्ट प्रा.लि. होटल काठमाडौ इन, भैरहवा अटो कम्पनी, बी.एन.सि. अटोमोबाइल्स प्रा.लि., बि.एन.सि स्केटिङ्ग लगायत देशका विभिन्न १० ठाउँमा स्केटिङ्ग व्यवसायहरु सञ्चालन गरेको छु । आगामी वैशाख १ गतेबाट यही भैरहवा नगरीमा नया योजनाका साथ मधुबन इको पार्क एण्ड रिसोर्ट सञ्चालनमा ल्याउने तयारी गरिरहेको छु । यसरी मेरो व्यवसायिक यात्रा चलिरहेको छ ।
तपाईको उम्मेदवारी किन ?
मेरो व्यवसायिक यात्राको क्रममा मैले धेरै किसिमका अनुभव हासिल गरेको छु । व्यवसायीका समस्या, अवसरहरु र चुनौतीहरुलाई नजिकबाट नियाल्ने मौका पाएको छु । व्यवसायमा लगानी गरेर मात्र होइन, व्यवसायीका यस्ता चुनौती, अवसर र समस्याहरुलाई पनि संगठनको माध्यमबाट सुनुवाई गर्ने तथा समाधान गर्नुपर्छ भन्ने मेरो बुझाइ छ । तसर्थ व्यवसायीको हकहित र अधिकारको प्राप्तीका लागि लड्न्पर्छ र सामूहिक रुपमा समस्याको समाधान गर्नुपर्छ भन्ने हिसाबले मैले सिद्धार्थ उद्योग वाणिज्य संघको आसन्न अधिवेशनमा वाणिज्य सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।
तपाईलाई मत किन दिने ?
मेरो जीवनको अधिकांश समय भैरहवामा बित्यो । मेरो व्यवसायिक प्रतिष्ठानहरु पनि यसै क्षेत्रमै रहेर सञ्चालनमा छन् । यहाँका उद्योगी–व्यवसायी लगायत आम नागरिकमा परिचित हुने अवसर यसै क्षेत्रले जुराइदिएको हो । यसकारण पनि म भैरहवाको विकासमा लाग्नुपर्छ । एकहिसाबले भन्नुपर्दा मेरो जन्मस्थल फरक भएपनि मेरो कर्मस्थल भैरहवा नै हो । त्यसकारण पनि म भैरहवाप्रति ऋणी छु । यहाँका म लगायतका व्यवसायीहरुको पक्षमा बोल्नुपर्छ । हिजो म यसै ठाँउमा अवसरहरु खोज्दै आएको थिए, अहिले भैरहवाले मलाई सफल व्यवसायीको रुपमा चिनाएको छ । व्यवसायिक यात्रामा अगाडि बढिरहदा आफूले भोगिरहेका समस्या र आम उद्योगी व्यवसायीहरुको समस्यालाई यस संघ हुँदै माथिल्लो निकायसम्म पुर्याउन अब्बल छु भन्ने कुरामा म सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई विश्वस्त बनाउन चाहन्छु । तसर्थ मलाई यहाँका उद्योगी, व्यवसायी तथा संघका सदस्यहरुले अमूल्य मत दिई विजयी बनाउनुहुनेछ भन्नेमा पूर्ण विश्वास छ ।
प्रचारप्रसारको काम कसरी अगाडी बढाउँनुभएको छ ?
मेरो व्याक्तिगत स्वभावको कुरा गर्दा म अलिकती कम बोल्ने, हाउभाउ देखावटी कम गर्ने र आफू लागेको कुरामा आफूलाई पूर्ण रुपमा समर्पित गर्ने खालको पाउँछु । सुरुवातको क्रममा सामान्य जागिरबाट सुरु गरेकोले पनि होला मलाई मेहनतमा बढी विश्वास लाग्छ । म अन्य कुनै पनि संघ–सस्थामा नजोडिएको कारण पनि होला व्यवसायीहरुसँग त्यति धेरै परिचित त छैन । तर, पनि व्यवसायिक रुपमा जोडिएका व्यवसायी साथीहरु र मेरा अग्रज तथा साथीहरुप्रति एकखालको सम्बन्ध स्थापित गर्न सफल भएको छु । उहाँहरुकै हौसला र मेरो आफ्नो व्यक्तिगत सक्षमताले गर्दा म उम्मेदवार बन्नको लागि योग्य भएकोले नै मैले उम्मेदवारी दिएको हुँ । तपाइले भने जस्तै उम्मेदवार भइसकेपछि प्रचारप्रसारको काम पनि महत्वपूर्ण नै हुन्छ । त्यसैले मैले अग्रज तथा साथीहरुको सल्लाहअनुसार अगाडि बढिरहेको छु । भेटघाट, फोन लगायतका माध्यमबाट मैले मतदाताहरुसँग आफ्ना कुराहरु राख्दै आइरहेको छु ।
अन्तमा के भन्न चाहनुहुन्छ ?
अन्तमा, निर्वाचन प्रक्रियामा गइसकेपछि मतदाताले आफ्नो स्वविवेक प्रयोग गरी उम्मेदवारहरु छान्नका लागी स्वतन्त्र हुनुहुन्छ । सक्षम नेतृत्व चयन गरी सिद्धार्थ उद्योग वाणिज्य संघको गरिमालाई थप उचाईमा पुर्याउनुहुन यहाँका उद्योगी व्यवसायीहरुको कर्तव्य हो । म पनि कार्यसमिति सदस्यमा बसेर यहाँका उद्योगी व्यवसायीको प्रतिनिधिको रुपमा काम गर्न चाहेको छु । म मनमस्तिष्क र आत्माले सम्पूर्ण उद्योगी व्यवसायीसँग हातेमालो गर्ने चाहना राख्दछु । यो कुरालाई मतदातहरुले बुझ्नुहुनेछ र मलाई विजेता बनाउनुहुनेछ भन्ने कुरामा ढुक्क छु । अन्तिम समयमा उम्मेद्वारी दिने निर्णय गरेको कारण समयमै सबै मतदाताहरुसँग भेटघाट त हुन नसक्ला । तर, पनि मलाई अमूल्य मत दिएर एउटा प्रतिनिधिको रुपमा विजेता बनाउनुहुन हार्दिक अनुरोध गर्दछु । विजेता भएसकेपछि व्यवसायीहरुको समस्याहरुलाई संघसम्म पुर्याउने गरीे हुलाकी अर्थात् पुलको काम मैले गर्नेछु । साथै समस्याको समाधान गर्न दबाब दिने पात्र बन्नेछु भन्नेमा सम्पूर्ण मतदातालाई विश्वास दिलाउल पनि चाहन्छु ।