
काठमाण्डौ, माघ ३० ।
नेपाल निजामती कर्मचारी संगठनको आसन्न १२औं महाधिवेसनमा रेवन्त गौतमले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । संगठनको केन्द्रीय उपाध्यक्ष समेत रहेका गौतमले उम्मेदवारी घोषणासँगै प्रचारप्रसार गर्न थालेका छन् । संगठनको स्पष्ट नीति तथा सोही अनुसारको सक्षम र दूरदर्शी नेतृत्व स्थापित गर्ने मुख्य उदेश्यका साथ आफुले अध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । गौतमले तीन कार्यकाल उपाध्यक्ष र एक कार्यकाल महासचिवको सफल कार्यकाल पूरा गरिसकेका छन् । कुशल संगठकका रुपमा परिचित गौतम हाल संगठनमा रहेका संगठक मध्ये सबैभन्दा पुराना हुन् ।
अध्यक्षका प्रत्यासी गौतमले पारदर्शी कार्यशैली अवलम्बन गरी संगठनलाई सामूहिक नेतृत्वको भावना विकास गराउने, व्यावसायिकता, सिर्जनशीलता र गतिशिलता सहितको सुदृढ संगठन निर्माण गर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुबीच सम्मानयुक्त अन्तरआवद्धता स्थापित गने, निजामती सेवा प्रतिको सम्मान र गौरव अभिबृद्धि गर्ने, सुदृढ, सक्षम, सेवामुलक, प्रभावकारी, गतिशील, लोकतान्त्रिक र जनमुखी सार्वजनिक प्रशासन निर्माण गर्ने, कर्मचारी तथा सदस्य केन्द्रित ट्रेड युनियनको विकास गर्ने, संगठनलाई सुचना तथा प्रविधीमैत्री, सुशासनयुक्त र वैचारिक संगठनको रुपमा विकास गर्ने, संगठनका हरेक कामकारबाहीलाई आधुनिक प्रविधियुक्त प्रणालीमा आबद्ध गर्दै पारदर्शी कार्यपद्धतीको विकास गर्ने, संगठनलाई व्यक्तिप्रधानबाट मुक्त बनाई सामूहिक नेतृत्व पद्धति निर्माण गर्ने, राजनीतिक अधिकार सहितको ट्रेड युनियन आन्दोलनलाई स्थापित गर्ने, सामुहिक सौदाबाजीको अधिकारमार्फत कर्मचारीहरुको हकहित र सुरक्षाको प्रवन्ध मिलाउने, राष्ट्रसेवक बहुउद्देश्य सहकारी संस्थालाई सहकारीको सिद्धान्त अनुसार संचालन गरि आम संगठनमा आवद्ध कर्मचारीको सामुहिक हितमा परिचालन गर्ने, संगठनमा रणनीतिक योजना सहित उत्तराधिकार योजना निर्माण गरी कार्यान्वयन गर्ने लगायतका योजना सहित अगाडी बढेको बताए ।