वर्षमा कम्तिमा एउटा राम्रो पुस्तक किनौँ

कुनै समय हामी आफ्ना बाबा ,आमाको लागि पढि दियौँ ।यो नपढी खानै पाइन्नकि भन्ने डर त्रासमा पढ्यौँ ।शिक्षकले यति पढिनस् भने फेल हुन्छस् भनेको भरमा पढ्यौँ ।कहिले साथीभन्दा पछि परिन्छ कि भनेर पढ्यौँ अर्थात् साथीलाई उछिन्नका लागि पढ्यौँ ।

कहिले छोरा / छोरीले पढ्दै छ /छे भन्ने भ्रम पारिदिनका लागि पढ्यौँ ।कहिले लोकसेवा वा अन्य जागिरमा नाम निकाल्नका लागि पढ्यौँ ।तर जसरी पढ्यौँ जे पढ्यौँ राम्रै गर्यौ ।त्यही बहानामा शिक्षित भयौँ र केही न केही ज्ञानी र अलिअलि बुझ्ने भयौँ ।पढेपछि नै केही सिकिन्छ जानिन्छ बुझिन्छ र सचेत अनि समझदार भइन्छ ।मान पाइन्छ , भलाद्मी बुद्धिजीवी हुन पाइन्छ ।अलि बढि नै नमस्कार , मान सम्मान र इज्जत पाइन्छ । तर विडम्बना , पढाइलाई जीवनशैली बनाउन हामी शिक्षित भनाउँदाहरू पमि चुकेकै छौँ ।सपिङ गर्दा विलाशी चिजबिजमा हाम्रो आँखा अलि बढि नै लोभिन्छ तर पुस्तक पसल र पुस्तकालयमा जान हामीलाई पटक्कै जाँगर चल्दैन ।

विदेशतिरका मानिसहरूम यात्रामा निस्कदा पुस्तक साथमा लिएर जानी बानी हुन्छ ।पुस्तक पढ्ने बानी उत्तम बानी हो भन्ने हामी मध्ये धेरैलाई थाहा छ ।तर पुस्तकलाई साथी बनाउन पटक्कै जानेनौँ ।कथकदाचित् पुस्तक किनि हाल्यौँ भने पनि एकपटक पढिसकेको पुस्तक हो किन पढ्नु भनेर फेरी पढ्न अल्छि मान्छौँ ।पुस्तक सित्तैमा पाइयो भमे त झन् त्यसको कदर पटक्कै गर्दैनौँ ।पढेजस्तो गरेर कतै कुनामा थन्काइदिन्छौँ वा कवाडवालालाई नुनसङ साटी दिन्छौ ।अरुको पुस्तक ल्याएर पढि नै हाल्यौ भने फिर्ता गर्नुपर्छ भन्ने हाम्रो चेतनामा हुँदैन । कसैकसैले पुस्तकको महत्व बुझेर पुस्तक सङ्ग्रह गर्ने बानी हुन्छ । पुस्तकालय नै खोलेरका हुन्छन् आफ्नै निजी निवासमा कुनैकुनै पुस्तक प्रेमीले । पुस्तक ज्ञान र सूचनाको भण्डार हो । यसले हाम्रो मन मस्तिष्कलाई ऊर्जावान र गतिशील बनाउँछ ।दिमागका कोषिकालाई सक्रिय बनाई राख्छ । जीवनका आयामहरू पहिल्याउन मद्दत गर्छ । प्रेरणा र मार्गदर्शन गर्छ । सिर्जनशील पाटोलाई मजबुत गर्छ। पुस्तक अनुत्पादक हो भन्न्ने भ्रम चिर्न जरुरी छ ।पुस्तकले जीवनबोध अस्तित्वबोध , सधै सत्यताको मार्गमा लाग्न प्रेरित गर्छ ।पुस्तक पठनले हीनताबोध हटाउनुका साथै आत्मविश्वास बढाउँछ ।मन मस्तिष्कलाई उर्बर तुल्याउँछ ।अनावश्य निद्रा र सुस्तीपनलाई भगाउँछ । पुस्तक पठन संस्कृतीले समाज दिशाहीन हुनबाट बचाउँछ ।।नयाँ सोच र शैली निर्माण गर्छ । पुस्तक मोहमा परेका मानिस पुस्तकबिना सन्तोषले बाँच्नै सक्दैनन् । सामाजिक सन्जालमै सस्ता, कम महत्वका भड्किला सामाग्रीहरूमा भने हाम्रो ध्यान अधिक केन्द्रित हुन्छ ।

किन पढ्न चाहदैनन् पुस्तक ?

१.कुनै समय पुस्तकमा भएका अभ्यास नगरेर वा नजानेर हामीले सजाय पाएको, सास्ती भोगेको त्यति सजिलै कहाँ बिर्सन सक्छौँ र ! पुस्तकले हाम्रो मनको शान्ति पनि खोसेकै हो ।यो कुरा हाम्रो स्मृतिपटमा ताजै छ ।यसैले हाम्रो पुस्तकसङ्गको नाता बिरानो भयो ।अनि त हामी कसरी पुस्तकलाई प्रिय मान्न सक्छौ ! यस्तो मनोवैज्ञानिक अवस्थाले ग्रस्त छौँ हामी ।

२. हिजो आज मोबाईल सूचना जानकारीको स्रोत बनेको छ ।सूचना जानकारीलाई हामी ज्ञान सम्झिन थालेका छौ । ज्ञान वास्तवमा त्यो होइन ।ज्ञान त हाम्रो मस्तिष्क हुदै हृदयको गहिराइ पार गर्दै नसानसामा बग्ने रक्तसञ्चारसङ्गै प्रवाहित हुनुपर्छ । ज्ञानको उक्त पूर्णताको विकल्प केवल पुस्तक बन्न सक्छ । गहिरिएर पुस्तक पढ्ने ठूला विद्वान बने , राजनेता बने , अलिअलि पढ्ने बसीबियालो गफ गर्न माहिर भए ।पढ्न पटक्कै जाँगर नगर्ने उक्त गफमा हो मा हो मिलाउने भए ।ताली बजाउने जमातमा परिणत भए ।

वर्षमा कम्तिमा एउटा राम्रो पुस्तक किनौँ पुस्तक किनेपछि त्यो आफ्नो सम्पत्ति बन्छ । किनेको पुस्तक पढ्नैपर्ने मनोविज्ञानले काम गर्न सुरु गर्छ । यात्रामा निस्कदा होस् ससुराली वा माइत जाँदा होस् , मामाघर जाँदा हो पुस्तक साथै लिएर जाने गरौं ।पुस्तक पढ्दा भिन्नै खालको आनन्द मिल्छ भने हाम्रो भावना र विचार फराकिलो बनाउँछ ।जीवन जगतलाई विभिन्न कोणबाट हेर्ने दिव्यदृष्टि प्रदान गर्दछ ।मन उजिल्याउँछ , मस्तिष्क जीवन्त राख्छ ।सायद भगवान गौतमबुद्धले पनि प्रशस्त पुस्तक अध्ययन गर्ने अवसर पाएका भए वैराग्य मार्ग अपनाउने थिएनन् कि ।ज्ञानको भोकले नै उनलाई राजसी सुख सयल परित्याग गर्न बाध्य बनाएको हो कि ! हाम्रो समाज पछि पर्नुको कारण पठन बानीको अभाव हो ।भनिन्छ, खाली मस्तिष्क सैतानको घर हो । पुस्तक पठनले जीवनका हरेक क्षणलाई पङ्गु हुनबाट रोक्छ । अरुको बहकावले पनि हामीलाई प्रभावित गर्न सक्दैन । पुस्तकालय जाने बानी गरौँ पुस्तकालय ज्ञानको भण्डार हो जहाँ हजारौ पुस्तक हुन्छन् ।पुस्तक सजाउनका निम्ति नभएर हाम्रो ज्ञानको दायरालाई बढाउनका निम्ति हो भन्ने कुरामा स्पस्ट हुनुपर्छ । पुस्तकले हाम्रो अधुरो ज्ञानको मात्रालाई पुरा गर्छ ।’अल्प विद्या भयङ्करी ‘को अवस्थालाई हटाउन मदत गर्दछ । अनेक मतभेद सिर्जना हुनु पनि अध्ययनको अभाव नै हो ।अध्ययनशील व्यक्ति हरेक मतभेदहरूमा सप्रमाण प्रस्तुत हुन्छ । जीवनपर्यन्त अध्ययन गर्ने बानीले समाज र राष्ट्रलाई नयाँयुगको चरणमा पु- याउने कुरामा कुनै सन्देह छैन ।  सि. न.पा -७, रूपन्देही

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार