
सैनामैना । रुपन्देहीको सैनामैना ६ कलौनीमा जारी सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको पाँचौ दिन आज एक खेल हुँदै छ ।
दिउँसो १ बजे हुने खेलमा दुई खेल जितिसकेको मणिमुकुन्द भलिबल क्लबले गण्डकी प्रदेश भलिबल क्लबसँग खेल्ने आयोजक दुधराक्ष युवा क्लबले जानकारी दिएको छ ।
गण्डकीको यो दोस्रो खेल हो । हिजो भएको आफ्नो पहिलो खेलमा गण्डकीले कोशी प्रदेश भलिबल क्लबलाई ३-१ को सेटमा हराएको थियो ।
त्यस्तै, तेस्रो खेल खेल्न लागेको मणिमुकुन्दले पहिलो खेलमा कोशी प्रदेश भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो भने दोस्रो खेलमा गल्कोट भलिबल क्लबलाई ३–१ को सेट अन्तरले हराएको हो ।
माघ २५ गतेदेखि सञ्चालन भएको प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।