


काठमाडौं । क्यान इन्फोटेकको ३०औँ संस्करण माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु हुने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यानं ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ३० औँ संस्करणको क्यान इन्फोटेक आयोजना गर्न लागेको जनाएको हो ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले महासंघले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको छ ।
क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्रविलास भूर्तेलले जानकारी दिए ।
नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने उनले बताए ।
टिकेटिङ पार्टनर टिकट सञ्जालमार्फत क्यान इन्फोटेकको टिकट अनलाइनबाट खरिद गर्न सकिने छ । यसअन्तर्गत सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निस्शुल्क प्रवेश व्यवस्था छ ।
क्यान इन्फोटेकमा करिब १५० स्टल रहने र करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गर्ने अनुमान गरिएको क्यानले जनाएको छ । क्यान इन्फोटेकको ३०औँ संस्करणमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको आयोजकले जानकारी दिएको छ ।